कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताएका छन् । कांग्रेसले आइतबारदेखि सुरु गरेको तीनदिने ‘बिपी साहित्य महोत्सव’ उद्घाटन समारोहमा उनले बिपी आफैँमा बहुआयामिक व्यक्तित्व भएको चर्चा गरे । ‘उहाँ राजनीतिक जगत्मा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँकोे राजनीतिक चिन्तनले देखाएको मार्गमै हामी हिँडिरहेका छौँ।’

बिपीकै चिन्तनले मुलुक समृद्ध बनाउन सकिने भन्दै उनले त्यसकै प्रयत्न भइरहेको बताए । ‘नेपालका सबै राजनीतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले बिपीका विचार अनुकरण पनि गर्दै आएका छन्,’ उनले भने, ‘उहाँ सादा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो । उहाँलाई भेट्दा तिमीहरू ठूलो मान्छे होइन, असल मान्छे बन्नु भन्नुहुन्थ्यो ।’
मुलुक अहिले बिपीले देखाएकै प्रणालीमा अघि बढेको उनको दाबी थियो । ‘आज कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आदर्श कायम गरेर अघि बढेको छ,’ उनले भने, ‘समयको अन्तरालसँगै आज हाम्रो मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको छ । तर, विभिन्न कारणले स्थायित्व पाउन सकेको छैन । नेपाल समाजवादउन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भए पनि यसको मर्मअनुसार अभ्यास गर्न पाइएको छैन ।’ देउवाले बिपीलाई अन्तर्राष्ट्रिय तहको नेता, राजनीतिक विचारक रहेको चर्चा गरे ।

अघिल्लो सामग्रीजन ज्योति माविको अध्यक्षमा नरेश लामिछाने सर्वसहमत चयन
यसपछिको सामग्रीबिपी को ११०औ जन्म जयन्तिको अवसरमा दिप प्रज्वलन तथा फलफुल वितरण