रौतहट: रौतहट र सर्लाहीको सीमा भएर बग्ने बाग्मती र लालबकैया नदीको बाढीले खतराको तह पार गरेको छ । बागमती र लालबकैया बाढीको सतह पार गरेपछि त्यस आसपास बस्ने स्थानीवासीहरुलाई सतर्कता अपनाउन रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आग्रह गरेका छन्।
उनका अनुसार जिल्लामा अहिलेसम्म बाँध भत्केको अथवा डुबानमा परेको अवस्था छैन । तर पनि वृन्दावन नगरपालिका वडा नं.१ मा बागमती खोलाको स्थान ठुलो रहेकोले त्यस आसपासका स्थानीयहरू प्रभावित भएको जानकारी आएको उनले जनाएको छ ।उनले त्यस आसपास तट्बन्ध खोला पट्टी घर बनाएर १५\२० जना बसिरहेको छ । उनीहरू डुबानमा पर्ने बुझिएकोले त्यहाँ उद्धार टोली पठाइएको प्रजिअ मिश्रले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सहितको टोली फिल्डमै रहेको र प्रभावित क्षेत्रहरूमा निरीक्षण कार्य भईरहेको जिल्ला बिपद ब्यवस्थापन टोलीले जानकारी दिएको छ । यता बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचना अनुसार बाग्मतीको पधेंरादोभान (कर्मैया) जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको देखाएको हो । बाढीको सतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बागमतीमा नदीमा पानीको सतह बढेपछि ब्यारेजको ३५ वटै ढोका खोलिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार बागमती नदीमा खतराको तह ६।८ मिटर पार गरेर ७।८१ मिटर पुगेको र अझै बाढी बढिरहेको देखाएको छ । तर, अहिलेसम्म जिल्लामा बाढीले खासै क्षति भएको छैन ।