रौतहट,२१ जेष्ठ मध्य तराईमा दैनिक गर्मीको पारो चढ्दैछ । अत्याधिक गर्मी बढ्दा तराईमधेशकोे जनजीवन प्रभावित भएको छ। अत्यधिक गर्मी हुँदा रौतहटको चन्द्रपुर,गरुडाका साथै सदरमुकाम गौर र कटहरीया क्षेत्रको जनजीवन कष्टकर बन्दै गइरहेको छ। चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।
गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् । पानी नपर्दा यहाँको जनजीवन कष्टकर भएको हो। अत्यधिक गर्मीका कारण बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी समस्यामा परेका छन्। समयमा पानी नपर्दा र अत्यधिक गर्मीले गर्दा कक्षा कोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको स्थानिय हरी प्रसाद चालिसे बताउँछन्।
अत्यधिक गर्मीले बालबालीकामा समेत रुघाखोकी लगाएत संक्रमक रोग बढेका उनले बताए । गर्मीको कारण मजदुरी गरेर जिविकोपार्जन गर्दै आएको सर्वसाधारणमा समेत प्रभाव परेको चन्द्रपुर ४ का झल कुमारी कार्कीले बताई ।दिन प्रति दिन बढ्दो गर्मि र जमिन सुख्खा हुदा खेतिपातीमा समेत सम्स्या भएको कार्कीले बताईन् । जेठ तेस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको हो ।रौतहटसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४५ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ ।
अत्यधिक गर्मीले विद्यार्थीलाई समस्या हुन थालेपछि नगरपालिकाभित्रका सामुदायीक तथा संस्थागत सबै विद्यालयलाई बिदा दिने निर्णय गरिएको चन्द्रपुर नगरपालिकाका मेयर संजय कुमार काफ्लेले बताए। उनले भने, ‘हाम्रो नगरपालिकाभित्रका अधिकांश विद्यालयका छाना कर्कटपाताले छाएका छन्, भौतिक संचनाहरु राम्रा नभएका गर्मीको समयमा अत्यधिक गर्मी हुने हुँदा हामीले जेष्ठ २४ गते सम्मका लागि विद्यालय बिदा दिएको मेयर काफ्लेले बताए । यस्तै अत्यधिक गर्मी बढेका कारण रौतहटका सबै सामुदायिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।जिल्ला शिक्षा समन्वय इकाई रौतहटले बिहीबार सूचना जारी गर्दै जिल्लाको १८ वटै स्थानीय तहका सबै विद्यालय एक हप्ताका लागि बन्द गर्न सिफारिस गरेको हो ।
अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकुल असर परिरहेको र कतिपय बालबालिका मुर्छित समेत भइरहेकाले वर्षे बिदाबाट कट्टा हुनेगरी एकहप्ता गर्मी बिदाका लागि अनुरोध गरेको इकाई प्रमुख रामाविनय कुमार सिंहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।।
गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडा पखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् । गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन् । चन्दूनिगाहपुर अस्पताल का प्रमुख डा अभिन्दन श्रिवास्तबका अनुसार अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा श्रिवास्तबका को भनाइ छ । डा. श्रिवास्तबका अनुसार“गर्मी बढेसँगै रौतहटमा संर्पदशका बिरामी समेत बढ्दै गएको छ ।”केहि दिन यता सर्पको टोकाई बाट हुने बिरामी हरुको चाप अस्पतालमा बढेको उनले बताए । फुसको घरमा बसोबास गर्ने र खेति किसानी गर्ने ब्यतिहरु बढि सर्पको टोकाई बाट बिरामी हुने गरेको बताए । बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका तरल पर्दाथको सेवनलाई बढाउनुका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन समेत डा. श्रिवास्तबले सर्वसाधारणलाई सुझाव दिएका छन् ।