रौतहट: चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय कुमार काफ्लेले नया परिवेश र पृथक ढंग ले ब्यवसाय संचालन गर्न आग्रह गर्नु भएको छ।सोमबार चन्द्रपुर स्थित होटल तथा पर्यटन व्यवसायी सङ्घ रौतहटले आयोजना गरेको प्रथम जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख काफ्ले उक्त धारणा राख्नु भएको हो । प्रमुख अतिथि समेत रहनु भएका पालिका अध्यक्ष काफ्लेले पर्यटन क्षेत्रको विकास नै होटल व्यवसाय सफल हुने आधार रहेको प्रष्ट पार्नु भएको थियो । रौतहटमा पर्यटन उद्योगको सम्भावना अधिक रहेको औँल्याउनुहुँदै अध्यक्ष काफ्लेले ती पर्यटकीय क्षेत्रको विकास, विस्तार र प्रचारप्रसार हुन सके चन्द्रपुर नगरपालिकाको नाम पनि प्रसिद्ध हुने बताउनुभयो ।
पर्यटकको आवागमन बढेमा होटल व्यवसाय फस्टाउने भएको हुँदा होटल र पर्यटन व्यवसाय एक अर्काका परिपूरक रहेको बताउनुहुँदै उहाँले पछिल्लो समय बैङ्कको चर्को ब्याजदरका कारण व्यापारीहरू मर्कामा परेका र पलायन हुनुपर्ने अवस्था सिर्जना हुन लागेकोमा चिन्ता व्यक्त गर्नुभयो ।उहाँले उक्त समस्याको समाधानका लागि कार्यपालिका बैठकमा छलफल गरी ठोस निर्णय लिने आश्वासन समेत दिनुभएको छ ।
यसैबीच उहाँले चन्द्रपुर नगरपालिका भित्रको पर्यटकीय स्थल भूमाफियाको कब्जामा पर्दै जानलागेकोले यसको विरुद्धमा सिङ्गो नगरवासीले खबरदारी गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रपुरका प्रमुख झपेन्द्रप्रसाद चापागाईँले पर्यटन व्यवसायको सम्भाव्यता अध्ययन गरी लगानी गर्नु पर्ने धारणा राख्नु भएको छ । कार्यक्रमको अध्यक्षता होटल तथा पर्यटन व्यवसायी सङ्घ रौतहटका अध्यक्ष शिवराम राउतले गर्नु भएको थियो ।
भिडियो:- https://fb.watch/jQEqws2O3I/?mibextid=NnVzG8