विश्वकपका खेलहरू नियमित रुपमा हेर्न नपाए पनि अपडेट भने भइरहेको छु। पहिलेभन्दा यस पटकको विश्वकप केही फरक पनि पाएको छु। एसियाली राष्ट्रको उत्कृष्ट प्रदर्शन र ठूला टोलीको हारले पनि विश्वकपलाई रोचक र रोमाञ्चक बनाइरहेको छ। कतार विश्वकपको समूह चरणका खेल सम्पन्न भइसकेको छ। त्यसैले नकआउट चरणमा अझै उत्कृष्ट खेल हेर्न पाइने छ। व्यस्तताका कारण समूह चरणका धेरै खेल हेर्न पाइनँ। अबका खेल भने सकेसम्म सबै हेर्नेछु। घरमै परिवारसँग बसेर विश्वकप हेर्ने योजना बनाएको छु। अबका खेलहरू छुटाउँदिन होला।
मेरो मनपर्ने टोली पोर्चुगल हो। क्रिस्टियानो रोनाल्डोका कारण पनि मैले पोर्चुगललाई सपोर्ट गरिरहेको छु। रोनाल्डोले एक किसिमले भन्नुपर्दा विश्व फुटबलमा तहल्का नै मच्चाएका छन्। उनको खेल्ने शैलीकै कारण म उनको फ्यान भएको हुँ। रोनाल्डोकै कारण पनि उनको राष्ट्र पोर्चुगललाई सपोर्ट गरिरहेको छु भन्दा पनि हुन्छ। रोनाल्डोको खेलले आकर्षित गर्नुअघि सानोमा ब्राजिल, अर्जेन्टिना भनेर पनि हिंडियो। ती राष्ट्रका जर्सी लगाएर हिंड्दा छुट्टै आनन्द आउँथ्यो। कुनै विश्वकपमा ब्राजिलको पक्षमा लागियो भने कुनैमा अर्जेन्टिनालाई सपोर्ट गरियो। रोनाल्डोको फ्यान भएपछि चाहिँ पोर्चुगललाई सपोर्ट गरिरहेको छु। आफूले सपोर्ट गरेको टिमले विश्वकप जितोस् भन्ने सबैलाई हुन्छ।
म पनि यस पटकको विश्वकपको ट्रफी पोर्चुगलले उचालोस् भन्ने चाहन्छु। यसो भयो भने विश्व फुटबलमा तहल्का मच्चाएका क्रिस्टियानो रोनाल्डोको पनि सुखद् बिदाइ हुनेछ। उनले कतार विश्वकप नै आफ्नो अन्तिम विश्वकप हुने बताइसकेका छन्। त्यसैले रोनाल्डोको सुखद् बिदाइका लागि पनि पोर्चुगलले विश्वकप जितोस् भन्ने चाहन्छु। अर्को कुरा पोर्चुगलको टिम सन्तुलित छ। युवादेखि रोनाल्डोजस्ता स्टार खेलाडीको समिश्रण छ। त्यसैले पोर्चुगल विश्वकप ट्रफी उचाल्ने सम्भावित टोली हो।
पोर्चुगलपछिको अर्को टिम रोज्न गाह्रो हुन्छ। रोज्नै पर्‍यो भने अर्जेन्टिनालाई रोज्छु। अर्जेन्टिना पनि राम्रो टिम छ। अर्जेन्टिनासँग पनि लियोनल मेसीजस्ता स्टार खेलाडी छन्। त्यही भएर मेरो दोस्रो रोजाईको टिम अर्जेन्टिना हो। पहिलो खेलमा एसियाली प्रतिद्वन्द्वी साउदी अरेबियासँग अप्रत्यासित पराजय बेहोरेको अर्जेन्टिना लयमा फर्किएको छ। समूह चरणका बाँकी दुई र प्रिक्वार्टरफाइनलको खेल जित्दै अर्जेन्टिनाले अन्तिम आठमा स्थान बनाइसकेको छ। त्यसैले दक्षिण अमेरिकी टोली तेस्रो पटक विश्वकप ट्रफी उचाल्न तीन खेल मात्रै टाढा छ।
यसैगरी एसियाली राष्ट्रले पनि उत्कृष्ट खेल खेलिरहेका छन्। त्यसमा पनि जापानको खेल निकै स्तरीय छ। चर्चित टोलीलाई हराउन सक्ने क्षमता जापानसँग छ। अहिलेको जस्तै तीब्र गतिमा खेल्ने हो भने जापानले जुनसुकै टोलीलाई आच्छुआच्छु पार्न सक्छ। युरोपेली र दक्षिण अमेरिकी राष्ट्रका खेलाडीको मुख्य पेसा नै खेल्नु हो। उनीहरू युरोपलगायत विभिन्न राष्ट्रका चर्चित लिगहरूमा खेलिरहेका हुन्छन्। युरोपेली र दक्षिण अमेरिकी राष्ट्रले फुटबलमा ठूलो लगानी पनि गरेका छन्। त्यही कारण हरेक पटकको विश्वकपमा उनीहरू नै दावेदारमा रुपमा देखिरहेका छन्।
युरोपेली र दक्षिण अमेरिकी राष्ट्रका खेलाडीको तुलनामा एसियाली राष्ट्रका खेलाडीले कमै मात्र अवसर पाएका छन्। राष्ट्रको लगानी पनि कम छ। यसका बाबजुद एसियाली राष्ट्रका खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनीहरूले पनि युरोपियन खेलाडीहरूलाई राम्रै टक्कर दिइराखेका छन्। नेपालले पनि जापान, दक्षिण कोरियालगायतका राष्ट्रको प्रदर्शनबाट धेरै कुरा सिक्न सक्नुपर्छ। हाम्रोजस्तो राष्ट्रले विश्वकपलाई एउटा प्रतियोगिताका रुपमा मात्र लिनु हुँदैन, त्यसबाट केही सिक्ने प्रयास पनि गर्नु पर्दछ।

अन्नपुर्ण बाट

अघिल्लो सामग्रीप्रभु साह र सिके राउतबीच भेट
यसपछिको सामग्रीदोलखामा माओवादी केन्द्रका कार्की विजयी