रौतहट,१५ कार्तिक —चन्द्रपुर ६ लमाहाका ७८ वर्षीय शेरबहादुर पहरी जंगली हात्तीले घर भत्काइदिए पछि अझै पनि त्रमसमा बसिरहेका छन् । दसैंको एक साताअघि चन्द्रनिगाहपुरबाट गाउँ पसेको जंगली हात्तीले शेरबहादुर संगै लमाहा बस्तीका आधा दर्जन घर भत्काइदियो । आक्रमणको प्रयास गरेपछि ज्यान जोगाएर शेरबहादुर पहरी  भागे । हात्ती फेरि पनि गाउँ पस्ने र आक्रमण गर्ने त्रासमा उनको परिवारले दसैं–तिहारलगायत चाडपर्व मनाउनु पर्यो । लमाहा जंगलमा झन्डै ३५ वर्ष बिताएका पहरीलाई यसअघि यस्तो आपत् आइलागेको थिएन ।
हात्तीको आक्रमणपछि उनको मन शान्त छैन । बस्तीका केही मानिस यही त्रासमा आफन्तकहाँ शरण लिन पुगेका छन् । बस्तीमै रहेकाहरू डरैडरमा रात बिताउँदै आएको सुनाउँछन् । दसैंको एक साताअघि चन्द्रनिगाहपुरबाट गाउँ पसेको जंगली हात्तीले लमाहा बस्तीका आधा दर्जन घर भत्काइदियो । हात्तीले धनमाया पहरी, राम पहरी, लक्ष्मण पहरी, फूलमाया मगर, अर्जुन पहरीको घर भत्काइदिएको हो ।

चन्द्रपुर ६ लमाहाका ७८ वर्षीय शेरबहादुर पहरी समस्याका बारेमा बताउदै।

यसअघि यो क्षेत्रमा वन्यजन्तुको आक्रमण नभोगेको स्थानीय बताउँछन् । २०४४ सालमा मकवानपुरको डाङडुंगे गाउँबाट बस्ती हटाइएपछि स्थानीय यहाँ स्थानान्तरण भएका थिए । ‘त्यसबेलादेखि कहिल्यै पनि वन्यजन्तुले दुःख दिएका थिएनन् । अहिले अचम्मै भयो । कहाँबाट आएर जंगली हात्तीले घर भत्कायो र मानिसलाई आक्रमणको प्रयास गर्‍यो भन्ने बुझ्नै सकिएन,’ शेरबहादुर भन्छन्, ‘अहिले रात पर्न थालेपछि डर लाग्छ । फेरि हात्ती आउने हो कि भन्ने मनमा त्रास हुन्छ ।’
लमाहामा धनमायाको पसल छ । पसलमा पनि हात्तीले क्षति पुर्‍याइदियो । उनी पनि त्यस रात मुस्किलले बचेको सुनाउँछिन् । मध्यरातमा हात्तीले घर भत्काउन थालेपछि नजिकै सडकमा रोकेर राखेको ट्रक चढेर चन्द्रनिगाहपुर आई ज्यान जोगाएको उनले सुनाइन् । उनीलगायत बस्तीका सबैजसो ट्रक चढेर भागेका थिए । राति गाउँमा सुत्न सक्ने अवस्था नभए पनि अधिकांशले बाध्यतावश बस्नु परिरहेको दुखेसो पोख्छन् ।

धनमाया पहरी

पूर्वपश्चिम राजमार्गले छोएको यो सुकुम्बासी बस्तीमा १४ घरधुरी छन् । केही वर्षअघिसम्म बस्तीनजिक लमाहा पुलपारि सशस्त्र प्रहरीको पोस्ट थियो । सुरक्षाकर्मीले राजमार्गमा नियमितजसो सुरक्षा जाँच गर्थे । बस्तीमा आउने बस्ने र हालखबर बुझ्ने गर्थे । ‘जसले गर्दा हामीलाई हाइसञ्चोजस्तै थियो,’ धनमायाले भनिन्, ‘तर हात्तीले पोस्टमै आक्रमण गरेपछि अहिले सुरक्षाकर्मी बस्न छाडेका छन् ।’
शेरबहादुरका अनुसार बस्तीनजिकको बाटो भएर वन्यजन्तुहरू ओहोरदोहोर गरिरहन्छन् । हात्ती पनि त्यही बाटो उत्तर–दक्षिण गरिरहन्छन् । तर, बस्तीमा कहिल्यै क्षति पुर्‍याएका थिएनन् । लमाहामा हात्तीले घर भत्काएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट सुरक्षाकर्मीको टोली त्यहाँ पुगेको थियो । तर, त्यतिन्जेलसम्म हात्तीले बस्तीमा कहर मच्चाइसकेको थिए । स्थानीय लक्ष्मण पहरीका अनुसार घटनापछि एक सातासम्म बस्ती सुनसान रह्यो ।

हात्तिले भत्तकाएको घर देखाउदै धनमाया पहरी ।

अहिले पनि केही मानिस दिउँसो बस्तीमै रहे पनि रातमा पौराइ गाउँमा आफन्तको घरमा बास बस्न पुग्छन् ।
अहिले हात्ती पसेर मान्छेलाई नै आक्रमण गरेपछि भने स्थानीयले अन्यत्र स्थायी बसोबास र राहतका लागि नगरपालिकामा निवेदन दिएका छन् । गत स्थानीय निर्वाचनअघि भोट माग्न आउने उम्मेदवारलाई पनि स्थानीयले स्थायी बसोबासको माग राखेका थिए । आसन्न निर्वाचनमा मत माग्न आउनेलाई पनि यही माग राख्ने स्थानीय सोम पहरीले सुनाए । ‘जंगलको बीचमा बस्ती छ । यही बस्तीका मानिसको मत लिएर चुनाव जित्छन् तर वाचा गरेको कहिल्यै पूरा गर्दैनन्,’ उनले भने, ‘सधैं त्रासमा रात बिताउनुपरेको छ । हाम्रो पीडा सुनिदिने कोही भएन । हाम्रो माग पूरा नभएसम्म भन्न छाड्दैनौं ।’नगरपालिकाले लमाहाको सुकुम्बासी बस्तीलाई कता सार्ने भन्ने विषयमा छलफल चलाएको जनाएको छ । नगर प्रमुख सञ्जय काफ्लेले लमाहा बस्तीलाई कता सार्ने भन्ने विषयमा छलफल भइरहेको बताए । यो बस्ती अन्य आधारभूत सेवा सुविधाबाट पनि वञ्चित छ । नगरपालिकामा पर्ने भए पनि यहाँ खानेपानी, स्वास्थ्य, शिक्षालगायत आधारभूत पूर्वाधारसमेत छैन ।
बस्तीछेउमा लमाहा खोला छ । स्थानीय यही खोलाको पानी पिउँछन् । बर्खामा धमिलो पानी पिउनुको विकल्प छैन । त्यसमाथि अहिले हात्तीको आक्रमणपछि गाउँ नै विस्थापन हुने अवस्थामा पुगेको छ ।

अघिल्लो सामग्रीएमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने
यसपछिको सामग्रीवृन्दावन-१ बलेरीमा मत माग्दै तिमल्सिना र भट्टराई