रामेछाप — रामेछापमा प्रतिनिधिसभा सदस्यमा पाँचदलीय गठबन्धनबाट कांग्रेस उम्मेदवार पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङले एमाले उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरेका हुन् ।आइतबार बिहान सकिएको मतगणना परिणामअनुसार तामाङले ढुंगेललाई १६ हजार ३ सय ६९ को मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार तामाङले ४७ हजार ९८ मत प्राप्त गरेर जित हासिल गर्दा एमालेका ढुंगेलले ३० हजार ७ सय २९ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित तामाङ नेपाली कांग्रेसको रामेछाप जिल्ला सभापति भइसकेका नेता हुन् । २०७० को संविधानसभा चुनावको समानुपातिकतर्फको सूचीमा पनि उनको नाम थियो । २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका उनी पराजित भएका थीए । निर्माण व्यवसायमा संलग्न उनी २०३६ सालदेखि राजनीतिमा पनि आबद्ध रहेका व्यक्ति हुन् ।
प्रतिनिधिसभा सदस्यमा पराजित एमालेका ढुंगेल २०७४ को निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । वाम गठबन्धनबाट प्रदेशसभा सदस्य बनेका उनी साढे ३ वर्ष वाग्मती प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । २०५६ को प्रतिनिधिसभा २०६४ र २०७० को संविधानसभामा एमालेको तर्फबाट रामेछापमा उम्मेदवार भई पराजित बनेका उनी फेरि सोही क्षेत्रबाट संघीय संसद्मा पराजित भएका छन् ।२०३६ सालबाट विद्यार्थी संगठनमा आबद्ध भएर राजनीतिमा सक्रिय भएका ढुंगेल २०५१ मा सुकुम्वासी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष, २०५४ मा जिल्ला विकास समिति सभापति पनि भइसकेका व्यक्ति हुन् । उनी २०७३ मा दुग्धविकास संस्थानको कार्यकारी प्रमुख पनि भएका थिए ।रामेछापबाट वाग्मती प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेताहरू निर्वाचित भएका छन् ।
आवरण रामेछापमा कांग्रेसका तामाङ निर्वाचित