बलात्कारपछि हत्या गरिएकी तेह्र वर्षीया निर्मला पन्तको चीत्कारले नबिउँझिएको हाम्रो समाजमा किशोरीहरूलाई निसानामा पारेर बलात्कारको शस्त्रले हत्या र घायल बनाउने सिलसिला दिनानुदिन बढिरहेको छ ।
चाहे ती अङ्गिरा पासीहरू होऊन् या भागरथी भट्ट या सम्झना कामीहरू, जसको प्राणले नुहाइसकेको नेपाली समाज आज पनि किशोरी बलात्कारजस्तो संवेदनशील अपराधमाथि टेकेर विभिन्न हास्यव्यङ्ग्य, मनोरञ्जन र ट्रोल गर्न उद्यत छ । मरेकाहरूबाट पाठ सिकेर, जिउँदाहरूले गरिरहेको प्रतिरोधलाई प्रोत्साहन गर्नुको साटो बोलिरहेकाहरूलाई हतोत्साही बनाउने घृणित कार्यले बलात्कार साबित हुनका निम्ति निर्मला पन्तहरूको पुनरावृत्ति हुनुपर्छ भन्ने भाष्य निर्माण गरिरहेको देखिन्छ । अर्थात्, जो बाँचेर बोलिरहेका छन्, उनीहरू ‘भिक्टिम’ नभएर सुनियोजित पेसेवर बलात्कृत हुन् भन्ने नजिर स्थापित गर्न खोजिँदै छ । नाबालिग बलात्कारजस्तो संवेदनशील मुद्दामा अपराधीलाई प्रोत्साहित गर्ने अभिव्यक्ति केवल अभिव्यक्ति नभएर अपराध कार्यमा संलग्नता हो, जसले यौन हिंसाका पीडितहरूप्रति हदैसम्मको अनुदार बनेर घुमाउरो पारामा, बलात्कार गर्न पाउनुपर्ने, माग गरिराखेको स्पष्ट देखिन्छ ।
किशोरी बलात्कारको मुद्दामा उठिरहेका आरोपी बचाउको आवाज सानी बालिका गोमा ब्राह्मणीमाथि वयोवृद्ध शिव शर्माको शोषणलाई जायज ठहर गर्ने मानसिकताविरुद्धको अभियान सुरु हुँदाको छटपटी हो । सदियौंदेखि निरन्तर चलिरहेको अलिखित सामाजिक मान्यता भत्किँदाको चीत्कार हो, पुरुषवादी अहङ्कारमा ढ्याङ्ग्रो ठोक्दाको बरबराहट हो । जो जति जे जसरी कराइरहेका छन्, चिच्याइरहेका छन्, यी सबैका आ–आफ्नै दुःख छन् । आफ्नो पुरुष मानसिकतामा बाँचिरहेको नाबालिग–भोग गर्ने रहरमाथि एकाएक सङ्कट निम्तिँदाको पीडा हो त्यो ।
शोषणको संरचना
यति बेला म नियालिरहेकी छु, स्वस्थानी व्रतकथाको त्यो अध्याय । सम्झिरहेकी छु गोमा–शिव शर्मा विवाह र कल्पना गरिरहेकी छु( कस्तो हुन्छ होला त्यो क्षण, जब वयोवृद्धसँग निकै नाबालिग छोरी सरसामान र दाइजोसहित अन्माएर पराईघर पठाइन्छ १ अनि विक्षिप्त हुन्छु, ती सानी बालिकाको मनोविज्ञान र जीवनमा भएको वज्रपात कल्पेर । भनिन्छ, सरकार लिखित कानुनका आधारमा चल्छ, तर समाज भने अलिखित मूल्यमान्यता र परम्पराद्वारा नियन्त्रित छ । काल्पनिक कथा नै भए पनि धर्म, संस्कृति या वैदिक साहित्य तत्कालीन समाजका प्रतिविम्बहरू हुन् । समाजलाई अनुशासन र नीतिनियममा हिँडाउन बनाइएका आचारसंहिता हुन् । यस आधारमा हामी आकलन गर्न सक्छौं, यी कथाहरू परिकल्पना मात्रै नभएर कुनै समय हाम्रो समाजले भोगेका जिउँदाजाग्दा घटनाहरूका प्रतिविम्ब पनि हुन् र त्यसै आधारमा तिनलाई समाजमा मान्य बनाउन कालान्तरसम्म अलिखित सामाजिक कानुनका रूपमा प्रयोग गरिँदै आइयो । त्यसका अवशेषहरू आजको समयमा पनि देखिन्छन् । समयक्रमसँगै केही सुधार भने अवश्य भएको छ, तर आज पनि सम्पत्तिको लोभलालचमा परेर या अन्य कारणले आफ्नै नाबालिग छोरीलाई वृद्धहरूसँग दाइजोसहित बिदाइ गर्ने अभिभावक जीवितै छन् । सामन्ती मानसिकताले ग्रस्त यस्ता पुरुषहरू धनसम्पत्तिको आडमा मर्ने बेलासम्म पनि किशोरीहरूको यौन शोषण गर्ने ‘डिमान्ड’ गरिरहन्छन् ।

म फेरि सम्झिन्छु, यसकै अर्को निरन्तरता, ती फुलनदेवीलाई । वृद्धलाई पतिका रूपमा गर्नुपरेको वरण, सानैमा अनेकौं पुरुषबाट बारम्बार भोग्नुपरेको यौन शोषण, यसकै कारण उनमा पर्न गएको मनोवैज्ञानिक असर अनि उनले अवलम्बन गरेको विद्रोहको बाटो । यो सिलसिला त्यतिमै रोकिन्न । यसको पुस्तान्तरण आज पनि कायमै छ । समाजले निरन्तर फुलनहरूको पुनरुत्पादन गरिरहेकै छ । निर्मला पन्तहरूमाथि समवेदना प्रकट गर्न सक्ने समाज किन बाँचेर विद्रोह गरिरहेका फुलनहरूप्रति अवरोध तेर्स्याएर सधैंका लागि विद्रोहलाई वर्जित गर्न खोजिरहेको छ, बोल्नेहरूको मनोबलमाथि प्रहार गरिरहेको छ र लाञ्छना तथा चरित्रहत्याको पात्र बनाइरहेको छ रु

बालविवाह र बालिकासँगको यौन सम्बन्ध कानुनतः वर्जित भए पनि व्यवहारमा भने समाजले आज पनि यसकै फन्को मारिरहेको छ । खास गरी विकट ग्रामीण भेगका विपन्न परिवारहरूमा सोह्र वर्षमै छोरीलाई विवाह गरी पराईघर पठाउन हतार गरिरहेका सामाजिक यथार्थहरू प्रशस्तै छन् । कतै विवाह सम्बन्धभित्र त कतै मन्जुरीमै ललाईफकाई प्रेमको बहानामा या जबरजस्ती किशोरीहरूमाथि यौन शोषण भइरहेकै छ ।

यौनाकर्षण र शोषणको मनोविज्ञान

एकातर्फ शिव शर्मासँगको अनमेल विवाहलाई पनि समाजमा जायज ठहर गर्ने सामन्तवादका अलिखित कानुनहरूको धङधङीबाट नेपाली समाज र यौनमा पुरुष मानसिकता बाहिर निस्किन सकिरहेको छैन ९प्रेम या विवाह गर्न आफूभन्दा धेरै सानो उमेरकी केटी खोज्दै हिँड्नु यसको एउटा दृष्टान्त हो० भने, अर्कातर्फ पुँजीवादले विशेष महत्त्वका साथ अघि सारेको कथित ‘भर्जिनिटी’ वा कुमारित्व खोज्ने मनोरोगी मानसिकताका कारण सिकारीहरू योजनाबद्ध रूपमै कानुनले समेत वर्जित गरेको अठार वर्ष नपुगेका बालिकाहरूप्रतिको आकर्षण बढ्दो छ । एउटै व्यक्तिले एकपछि अर्को गरेर दर्जनौं किशोरीलाई आफ्नो रहर पूरा गर्ने माध्यम बनाइरहेको पनि देखिन्छ । एकातर्फ, पुँजीवादी बजारले छ्यापछ्याप्ती उपलब्ध गराइरहेका पोर्न सिनेमा र विभिन्न कामुक चित्रसहितका यौन साहित्य हातहातमा उपलब्ध प्रविधिको सहायतामा हेर्दै–सुन्दै आइरहनाले बालबालिकामा यसप्रति कौतूहल र चासो बढ्दै जाँदा अनुपयुक्त उमेरमै पनि यौनप्रति चासो देखाउने नयाँ पुस्ता दिनानुदिन बढ्दै गइरहेको देखिन्छ । अर्कातर्फ, यसै कौतूहललाई ‘क्याप्चर’ गरेर कलिला बालिकाहरूको मनोविज्ञानसँग खेल्न उद्यत यौन शोषण गर्ने आपराधिक चिन्तन बोकेका पुरुषहरूको जमात पनि ठूलै छ । त्यस्तो पुरुष जमातले क्रमिक रूपमा थुप्रै बालिकालाई भावनात्मक बहकावमा पारी झुक्याएर या विभिन्न प्रलोभनमा पारेर या मन्जुरी नै लिएर पनि यौन उत्तेजनाको सिकार बनाइरहेको छ । कसैको कथित कुमारित्व भङ्ग गरेर पुरुषवादी दम्भमाथि न्याय गरेको ठहर गर्दै क्रमिक रूपमा यस कार्यलाई अझ अघि बढाउँदै हिँड्ने गरेको पाइन्छ । पछिल्लो समय बाहिरिएका पल शाह र सन्दीप लामिछानेका घटना त प्रतिनिधि मात्रै हुन्, जो आफ्नो लोकप्रियतालाई हतियार बनाएर फ्यान फलोइङका माध्यमबाट आफूप्रति विश्वास र लगाव भएका नाबालिगहरूलाई प्रभावमा पारी होसियारीपूर्वक किशोरी करणीजस्तो आपराधिक गतिविधिमा संलग्न भएका देखिन्छन् । थाहा छैन, किशोरीहरूलाई आफ्नो आहार बनाउने यस्ता सिकारी मानसिकताहरू कति सक्रिय छन् र दिनहुँ कति किशोरीहरू यस्ता पुरुषहरूको यौन आहार बनिरहेका छन् १

समग्रमा यस्ता खाले चिन्तन पितृसत्तात्मक सामाजिक संरचनाबाटै निर्देशित छ । जसले बहुस्त्री–गमनका आधारमा पुरुषको मर्दपनलाई ‘जज’ गर्छ । महिलाको हकमा विवाहपूर्वको यौन सम्बन्ध वर्जित र सम्बन्धमा एकनिष्ठताको माग गर्ने सामन्ती पितृसत्ताले ‘मर्दकी सयवटी’ भनी स्त्री सङ्ख्याका आधारमा पुरुषको मर्दानगीको आडम्बरलाई छुट दिन्छ । यही सामाजिक संरचनाले त्यस्ता पुरुषहरू निर्माण गरिरहेको छ, जो सङ्ख्यामा कति, कस्ता, कुन उमेरका र कस्तो शारीरिक बनोट भएका महिलाहरूसँग शारीरिक सम्बन्ध स्थापित गर्न सकिन्छ भन्ने होडबाजीमा छन् । यसलाई सान बनाएर व्यापक प्रचार गर्ने र आफ्नो पुरुषत्वको दावा गर्ने परिपाटी पनि त्यत्तिकै विकास भइरहेको छ । मुख्यतः महिलाको हकमा विशेष महत्त्वका साथ ल्याइएको कुमारित्व, जसका नाममा असङ्ख्य नाबालिग यौन शोषणको सिकार भएका छन्, त्यस खाले विषाक्त सोचयुक्त पुरुषहरू नियतवश नै योजनाबद्व रूपमा कमभन्दा कम उमेरका बालिकाहरूको यौन शोषण गर्दै हिँडिरहेका छन् । ओरेक नेपालले मे २०२२ मा गरेको अध्ययन अनुसार कुल बलात्कृतमध्ये ४० प्रतिशत नाबालिग छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८–७९ मा १,५६० जना नाबालिग बलात्कारको सिकार भएका छन् । निरन्तरको खबरदारी र प्रतिरोधका बावजुद नाबालिग बलात्कारको यो डरलाग्दो तथ्याङ्क हो ।
हिंसा-संरक्षकहरूको डरलाग्दो चित्र
नाबालिग बलात्कारजस्तो जघन्य अपराधमा मुछिएका व्यक्तिहरूको महिमा गाउँदै तिनको रिहाइका निम्ति सडक तातेको उदाहरण हाम्रै देशमा पाइन थालेको छ । जब देशका ‘सेलेब्रिटी’ हरूबाट हरेक पटक नाबालिग बलात्कारको मुद्दा दर्ता हुन्छ तब पक्ष–विपक्ष गरी मत विभाजन हुनुसम्मलाई त सामान्य रुपमा लिन सकिएला, तर कानुनलाई समेत चुनौती दिएर अभियुक्त बचाउन देशैभर नाराजुलुससहित ‘आई एम विद यु’ भन्दै अभियान सञ्चालन हुनु महिला हिंसाप्रतिको सामाजिक दृष्टिकोणमा सानोतिनो समस्याको कुरा होइन । कानुनले स्वयम् नाबालिगसँग न मन्जुरीमा न त जबरजस्तीमै, जसरीसुकै यौन सम्बन्ध राख्नु करणी नै हुन्छ भनेर स्पष्ट पारिसकेको अवस्थामा, बालिकाहरूलाई उनीहरूकै इच्छामा भए पनि यौनकार्यमा संलग्न गराउन नहुने र त्यसमा होसियारी देखाउनुको साटो उल्टै पीडितलाई नै पेसेवर भन्दै मान्छे फसाउने गिरोहमा संलग्न भएको आरोप लगाउने कार्यमा समेत केही गायक तथा कलाकारहरू नै अग्रपङ्क्तिमा उभिए, निकृष्टताको हद पार गरेर ।
लिखित कानुन महिलाहरूका निम्ति उदार देखिए पनि त्यसको व्यावहारिक पाटो त्यति प्रभावशाली हुन सकिरहेको छैन । चाहे त्यो निर्मला हत्याकाण्ड होस् या दर्जनौं किशोरी बलात्कारका मुद्दा नै किन नहोऊन्, अझै पनि सुनुवाइविहीन छन् । अपराधीहरू कानुनको दायरामा आउन सकेका छैनन् । यस्तो अवस्थामा पितृसत्तात्मक संरचनामा आधारित देशको कानुन नै शक्ति र सामर्थ्यका अघि नतमस्तक भएर विपन्न वर्ग तथा लिङ्गप्रति अनुदार हो कि भन्ने आशङ्का उब्जिने गरेको छ । पीडितहरूमाथिको सामाजिक दृष्टिकोणको चित्र झनै भयावह छ । कसैले म हिंसामा परें भन्दै गर्दा उसको आवाजलाई मुखर बनाउनासाथ सहयोग त परको कुरा, उसको दुःखमा सहानुभूतिसम्म प्रकट गर्न नसकी उल्टै पीडितलाई नै अनेक प्रकारले आरोपित गरी निरुत्साहित गर्नेहरूमा कथित पढेलेखेकै अगुवाहरू अग्रपङ्क्तिमा देखिन्छन् ।
‘मन मिल्दा चमत्कार, नमिल्दा बलात्कार’, ‘प्रतिकार उति बेलै नभएर अहिले किन’, ‘सहमतिमै भएको सम्बन्ध कसरी बलात्कार’ जस्ता भाष्य र प्रश्नहरू निर्माण गरेर पीडितमाथि सहनै र सुन्नै नसकिने गरी चरित्रहत्याको सिलसिला चलिरहेकै छ । हरेक पटक हिंसाविरुद्ध आवाज उठाउने महिलाहरू सामाजिक सञ्जालमा उपस्थित यस्ता खाले गिरोहको सामूहिक प्रहारबाट गुज्रिन बाध्य छन् । ‘जङ्गलमा, झाडीमा, बाटोमा रोइकराइ गरेको पो बलात्कार; दिनभरि सँगै घुमेर होटलमा पुगेपछि कसरी बलात्कार’, ‘देशको कानुन दैवले जानून्’ जस्ता टुक्का कथेर कानुनको समेत खिल्ली उडाई आफ्नो मनोभावना व्यक्त गरिरहेका पनि प्रशस्तै भेटिन्छन् । अझै कति त कानुन नै संशोधन गर्नुपर्ने बहस पनि सिर्जना गरिरहेका छन् । उमेर हदको कानुनलाई लिएर अठार वर्षमुनिका बालिकाहरूप्रति ‘कसैलाई फसाउन पासो थापिरहेको जाल’ भन्नेजस्ता उपहास र व्यङ्ग्यले यति बेला सामाजिक सञ्जालहरू भरिएका छन् । खासमा चिच्याईचिच्याई यस्तो कुतर्क गरिरहेकाहरूको पनि तीभित्र सुषुप्त रूपमा रहेको बलात्कारी छवि धरमराइरहेको हो । हठात् यस्ता अभिव्यक्तिहरू पहिले चोरले नै खुट्टा उचालेजस्तै भोलि आफैंमाथि पनि सङ्कट आइलाग्छ कि भन्ने चिन्ता र डरले निम्त्याएको बुझ्न गाह्रो छैन । यथार्थमा यो नाबालिगले इच्छा नै देखाए पनि हामी सम्हालिन सक्छौं भन्ने आत्मविश्वास डगमगाउनुको परिणति हो ।
यस्ता ट्रोल र व्यङ्ग्य गर्नुको साटो सबैले बुझ्नुपर्ने के हो भने, नाबालिग यौन सम्बन्ध कानुनतः अपराध हो । त्यहाँ सहमति भन्ने विकल्प नै छैन । शारीरिक र मानसिक रूपमा बदलिँदै गरेका किशोरीहरूले निकटता देखाउँदैमा या इच्छा प्रकट गर्दैमा शारीरिक सम्बन्ध स्थापित गर्नुभन्दा अघि उमेर पुगेका परिपक्व पुरुषहरूले एक पटक होइन, दस पटक कानुनी दृष्टिकोणले सोचविचार गर्नुपर्ने परिस्थिति बन्नु आवश्यक छ । बालबालिकालाई कच्चा उमेर र सोचको फाइदा उठाएर यौनकार्यमा संलग्न गराउनुको साटो यसबाट टाढा राख्न प्रयत्न गर्नुलाई सबैले नैतिक जिम्मेवारीका रूपमा लिनुपर्छ । साभार कान्तिपुर

अघिल्लो सामग्रीमधेशमा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह
यसपछिको सामग्रीजबरा निवासबाट निस्किने गाडीलाई पनि ‘चेकिङ’