श्रावण १७,पर्सा
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या १८ बाट बढेर ४१ पुगेको छ । निकुञ्जका सहायक संरक्षण एवं सूचना अधिकृत सन्तोष भगतका अनुसार गत वर्षको अन्त्यतिर गरिएको राष्ट्रिय बाघ गणना कार्यक्रमको यसै साता सार्वजनिक नतिजाले निकुञ्जमा बाघ बढेको देखाएको हो ।
‘यसअघि २०१८ को बाघ गणनामा पर्सा निकुञ्जमा १८ बाघ देखियो,’ उनले भने, ‘४ वर्षको अन्तरालमा दोब्बर भएका छन् ।’ हाल पर्सा निकुञ्जमा गणना गरिएका ४१ मध्ये भाले, पोथी, वयस्क र डमरु भने छुट्टयाउन बाँकी छ । चितवन–पर्सा कम्प्लेक्समा २०७८ माघ ४ देखि २ सातासम्म क्यामेरा ट्र्यापिङ विधिबाट बाघ गणना गरिएको थियो । संरक्षण तथा वृद्धिका लागि गरिएको प्रयासका कारण पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बर्सेनि बढ्दो क्रममा रहेको भगत बताउँछन् । ‘सन् २००९र१० मा गरिएको गणनामा निकुञ्जमा केवल ४ वयस्क बाघ थिए, २०१३ मा ७ र २०१८ गणनाले १८ बाघ देखिएका थिए,’ उनले भने, ‘तर हाल भने ४ वर्ष नबित्दै बाघको संख्या दोब्बर बढी भयो ।’
निकुञ्जमा बाघको संख्या बढ्नुमा यसको आहारा प्रजातिका जनावरको सख्यां बढ्दै जानु र बाघ संरक्षणमा गरिएको प्रयासको सकारात्मक परिणाम नै रहेको भगत बताउँछन् । ‘बाघको बासस्थानको व्यवस्थापन, पानीको व्यवस्थापन, नियमित अनुगमन र घाँसे मैदानको विकास गरी यसका आहारा प्रजातिको संख्या वृद्धि गरिँदा पनि पर्सा निकुञ्ज बाघमैत्री बन्दै गएको हो,’ उनले भने, ‘रामभौरी, भाठा, रमौली, प्रतापपुरजस्ता निकुञ्जभित्र रहेका मानवबस्तीलाई स्थानान्तरण गरिएपछि पनि बाघलगायतका अन्य वन्यजन्तुको संख्या पनि वृद्धि भएको छ ।’ ४ वर्षअघि निकुञ्जको क्षेत्र विस्तार गरिएपछि त्यसले पनि बाघको बासस्थान सकारात्मक भूमिका खेलेको उनले बताए ।निकुञ्ज कार्यालयबाट करिब १५ किमि पूर्वमा हल्खोरिया दह क्षेत्रमा बाघको गतिविधि बढेको छ । उक्त क्षेत्र निकुञ्जको विस्तारित क्षेत्र हो । पर्सा, बारा र मकवानपुर गरी ६ सय २७ वर्ग किमि क्षेत्रफलमा निकुञ्ज फैलिएको छ । निकुञ्जमा बाघको संख्या वृद्धिसँगै थप चुनौती पनि बढेको उनले बताए । बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिको वन्यजन्तुको संख्या थप वृद्धि, निकुञ्जमा लाग्ने मेला प्रमुख चुनौती रहेको उनले बताए ।

कान्तिपुर बाट

अघिल्लो सामग्रीआज नागपञ्चमी, यसकारण गरिन्छ नागको पूजा
यसपछिको सामग्रीमाल्दिभ्सको फुटबल मैदानमा किरणले राखे कन्चनलाई प्रेम प्रस्ताव