श्रावण १२, बिहीबार
रौतहटमा रंगपुर, जंगलसहिया र वृन्दावन गरी तीन वटा साझेदारी वन उपभोक्ता समिति सञ्चालनमा रहेको छ ।
जिल्लामा सञ्चालनमा रहेको यी तिनवटै वन उपभोक्ता समिति अबैध रहेको पाइएको छ । सरकारी नियम अनुसार प्रत्येक दुई–दुई वर्षमा साधारण सभा गरेर नयाँ उपभोक्ता समिति गठन गर्नुपर्ने नियम छ । तर यी तीनवटै साझेदारी वन उपभोक्ता समिति दुई वर्ष भन्दा बढी समय भए पनि अझै साधारण सभा गर्न सकेका छैन । साधारण सभा गर्न नसक्दा तीनवटै वन उपभोक्ता समितिमा एउटै समिति विगत लामो समयदेखि कायम रहेको छ । नियम विपरीत साझेदारी वनमा एउटै समिति २० वर्ष देखि कायम रहेको पाइएको छ । रंगपुर साझेदारी वन उपभोक्ता समिति गठन भएयता ३ जना अध्यक्ष भएका छन् । संस्थापक अध्यक्ष नागेन्द्र यादव प्रदेश सांसद भएपछि सो समितिको अध्यक्ष उपाध्यक्ष जितेन्द्र चौधरी भए । उनीपनि वडा अध्यक्ष भएपछि अशोक यादव रंगपुर साझेदारी वनको अध्यक्ष भए । यता जंगलसहिया साझेदारी वन उपभोक्ता समितिको अध्यक्षमा रामचन्द्र गिरी स्थापना कालदेखि नै अध्यक्ष रहेका छन् । उनी सहित सो उपभोक्ता समितिमा रहेका पदाधिकारी लामो समयदेखि समितिमै रहेका छन् । २० बर्ष पहिला तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासन कालमा देशमै पहिलो पटक रौतहटमा ३ वटा साझेदारी वनको अवधारण अनुसार ती उपभोक्ता समिति गठन भएका थिए । स्थापना कालदेखि नै जिल्लामा रामलाल बृन्दावन साझेदारी वन उपभोक्ता समिति संचालनमा रहेको छ । रौतहटमा नियम अनुसार साधारणसभा भएर समिति बन्न नसकेको डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत रामप्रसाद साहले बताए । नियम कानून विपरीत रौतहटका तीनवटै साझेदारी वन डिभिजन वन कार्यालयबाट विभिन्न शीर्षकमा रकम लिएर काम गर्दै आएका छन् ।उनीहरुले हालै काठ बिक्रि वितरणको अनुमति लिएर काठ समेत बिक्रि वितरण गरेका छन् । ती साझेदारी वन उपभोक्त समितिहरुलाई डिभिजन वन कार्यालय रौतहटले साझेदारी वनको अवधारण अनुसार काम र साधारणसभा समेत गराउन नसकेको उपभोक्ता भरत आचार्यको भनाइ रहेको छ । काठ दाउराबाट बन्चित रहेका उपभोक्ताले सहजै काठ दाउरा पांउन भन्ने मनसायले तत्कालीन समयमा गठन भएका साझेदारी वन उपभोक्ता समितिले काठ दाउरा वितरणमा समेत अनियमितता गरेको आम उपभोक्ताहरुको गुनासो रहेको छ । तीनै वटा साझेदारी वनले हालै काठ वितरण गर्दा उपभोक्तालाई भन्दा ब्यापारीलाई अनियमित तरिकाले काठ दाउरा वितरण गरेको गुनासो व्यापक रहेको छ । डिभिजन वन कार्यालयलले साझेदारी वन उपभोक्ता समितिले उपभोक्तालाई काठ दिनु पर्नेमा व्यापारीलाई काठ दिएको गुनासो आएपछि रंगपुर साझेदारी वनलाई पत्र काटेर स्पष्टीकरण सोधेको छ ।
रामलाल बृन्दावन साझेदारी वन उपभोक्ता समिति र जंगलसहिया साझेदारी वन उपभोक्ता समितिले समेत काठ वितरण गर्दा उपभोक्तालाई भन्दा व्यापारीलाई प्राथमिकता दिएको स्थानीयको भनाइ रहेको छ । ३ वटै साझेदारी वन उपभोक्ता समितिलाई कानूनको दायरामा ल्याउनुपर्ने आम उपभोक्ताको भनाइ रहेको छ ।

अघिल्लो सामग्रीएमाले बौद्वीमाई नगर कमिटी अध्यक्षमा कुशवाहा निर्विरोध निर्वाचित
यसपछिको सामग्रीरौतहट प्रहरीद्वारा जोखिममा रहेका २ वालिकाको उद्वार