रौतहट,०२ असार
रौतहटका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् ।
भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु जिल्ला सदरमुकाम गौरसहित गरुडा, समनपुर,कटहरीया,चन्द्रपुरलगायतका बजारका साथै गाउँगाउँमा समेत विक्री वितरण भइरहेको स्थानीयवासी राजन श्रराफले बताउनुभयो ।
विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको चन्द्रपुर नगरपालिका– ४ का राजकुमार दर्लामीले बताउनुभयो ।उहाँका अनुसार विषादी हालेर पकाइएको आँप खाँदा बालबालिकाको स्वास्थमा असर पर्ने र झाडापखाला तथा बान्ताको समेत जोखिम रहेको दर्लामीले बताए ।
यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने चन्द्रपुर हस्पिटल प्रा. ली का प्रमुख डा सुवास चौधरीले बताउनुभयो । कार्बाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, बान्ता हुनेलगायत स्वास्थ्य समस्या हुने भएकाले यस्तो आँप नखान डा. चौधरीले सुझाव दिनुभयो ।
प्रचलित खाद्य ऐन २०२३ ले कृत्रिम रसायन कार्वाइट प्रयोग गरी आँप पकाउन प्रतिबन्धित गरेको छ ।खाद्य ऐन अनुसार प्रतिबन्धित यस्ता रसायन प्रयोग गरी आँप बिक्री वितरण गर्ने व्यवसायीलाई १० हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
तर भारतबाट व्यापारीले भन्सार तिरेर रसायनयुक्त आँप आयात गरिरहँदा पनि स्थानीय प्रशासन भने मौन छ । केहि ब्यापारीहरुले राजश्व बुझाएर आप आयात गरीरहेका छन् भने देखी केहि बाहेककाले भन्सार राजश्व छलेर पनि गौर नाकाहुँदै ठूलो परिमाणमा आँप नेपाल भित्रिने गरेको छ ।
आवरण रौतहटका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती