रौतहट//रौतहटको राजपुर नगरपालिकाको मेयरमा पुर्व मन्त्रि अफताब आलमका छोरा मोहम्मद राजिक आलम विजयी भएका छन् । राजिकले जसपाका मोहम्मद जैद आलमलाई २ हजार ५ सय ७४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
आलमले ६ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् भने जैदले ३ हजार ७ सय ५१ मत पाएका छन् । राजपुरसँगै कांग्रेसले अहिलेसम्म रौतहटमा दुई पालिका जितेको छ ।यस्तै उपप्रमुखमा कांग्रेसकै जमिला असगरी ६ हजार २ सय ६८ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालय राजपुरले जनाएको छ । असगरीले जसपाका चिन्ताकुमार कलवारलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरिन् । कलवारले ३ हजार ६ सय २९ मत पाए ।
राजिक चिकित्सकसमेत हुन् । उनी २०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा बम बनाइरहेका बेला विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा हालेर ज्यान लिएको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका सांसद मो. अफताब आलमका कान्छा छोरा हुन् । आलमकै विरासत रहेको राजपुरमा राजिकले ‘लोकप्रिय’ मत पाएर जितेका हुन् । उनको प्रतिस्पर्धामा रहेका मोहम्मद जैद आलमका आफ्नै भान्जा स्वर्गीय मुस्ताक राजाका छोरा हुन् ।
राजिकका काका हजुरबुबा शेख इद्रिसले रौतहटबाट २०४८ र २०५१ को चुनाव जितेका थिए । २०५३ सालमा उनको मृत्युपछिको उपनिर्वाचनमा अफताब आलम निर्वाचित भए । २०६४ र २०७४ को चुनाव जितेका आलम मन्त्री पनि बने । तर फौजदारी मुद्दा चलाइएपछि उनी प्रतिनिधिसभा सदस्यबाट निलम्बित छन् ।