रौतहट/मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम दोस्रो पटक फेरिएको छ । मुलुकमा संघीयता कार्यान्वयन भएसँगै मधेस प्रदेश सरकार मातहतमा सातवटा मन्त्रालय स्थापना भएको थियो । तर मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहभागी भएपछि मुख्यमन्त्री लालबाबु राउतले सात वटा मन्त्रालयलाई फुटाएर दसवटा मन्त्रालय विस्तार गरेका छन् । मन्त्रालय फुटाएसँगै मन्त्रालयको नाम पनि फेरिएको हो ।माओवादी केन्द्र मधेस प्रदेश सरकारमा सहभागी भएपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय स्थापना गरिएको थियो । सो मन्त्रालय सम्हालेको १० महिनापछि सो मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको छ । मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जेठ ६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार नाम परिवर्तन गरी काम अनुसारकै मन्त्रालयको नाम गृह तथा सञ्चार मन्त्रालय राखिएको बताए ।
सो मन्त्रालयको नाम परिवर्तन भएको सूचना मधेस प्रदेशको राजपत्रमा मंगलबार प्रकाशित भएको छ । प्रहरी, प्रशासन तथा सञ्चार क्षेत्रका लागि काम गर्ने मन्त्रालयको नाम परिवर्तन गरिएको मन्त्री साहको भनाई छ । उनले भने, ‘मधेस प्रदेशको शान्ति सुरक्षा हेर्ने र संविधानले पनि शान्ति सुरक्षा हेर्ने जिम्मेवारी दिएकाले सो अनुसार प्रदेशवासीमा रहेको भ्रम चिर्नका लागि पनि मन्त्रालयको नाम परिवर्तन गरिएको हो ।’स्थापनाकालमा सो मन्त्रालयको नाम आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहेको थियो । पछि सो मन्त्रालयको विभाजन हुँदा कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय अलग गरेर आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नाम राखिएको थियो ।

अघिल्लो सामग्रीरवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा
यसपछिको सामग्रीगरुडा नगरपालिकामा प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी