१४ बैशाख,रौतहट//सामाजिक सञ्जाल र युवाहरुमाझ चर्चित नाम हो बालेन शाह । युवा पुस्ताका मतदाताको उनी प्रति आकर्षण देखिएको छ ३१ वर्षीय शाह स्ट्रकचरल इन्जिनियर हुन् । नेपाली र्याप गायनमा पहिचान बनाएका शाहले इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । शाहको पक्षमा फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटी समेत खुलेरै लागेका छन् ।कलाकारहरु प्रियंका कार्की, स्वस्तिमा खड्का, निर्माताहरु माधव वाग्ले, सन्तोष सेन, निर्मल शर्मालगायत बालेनको पक्षमा खुलेर लागेका छन् । प्राय राजनीतिक मुद्दामा मौन रहने प्रियंका र स्वस्तिमाले चाहिं बालेनको तस्वीर र घोषणापत्र पनि सेयर गरेका छन् ।
अघिल्लो पटकको मतदाताको रुझानका आधारमा तत्कालीन साझा र विवेकशीलका मतदाताको मत उनले खोस्न सक्ने विश्लेषण हुने गरेको छ । विवेकशील दलबाट रञ्जु दर्शनाले २३ हजार ४३९ र साझा पार्टीका किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए ।दुबै उम्मेदवारको मत मत ४१ हजार ९३५ थियो । ती दुई दलको मतको साथै थपिएका मतदातालाई पनि उनले तान्न सके भने मूलधारका दलका लागि उनी ठूलो चुनौती हुनेछन् ।
नयाँ पुस्ताको मतलाई अधिकतम तान्ने प्रयास गरेका शाहले नयाँ पुस्ताको चिन्ता गरेर पुरानै पुस्तालाई भोट गर्नु उचित नहुने बताए । ‘अहिलेको पुस्ताले परिवर्तन ल्यायो, जनताको छोरो शासन सत्तामा पुग्ने भयो ।’ उनी भन्छन्, ‘अब छोराछोरीको भविष्यको चिन्ता छ । शिक्षा र स्वास्थ्यमा परिवर्तन चाहिएको छ ।’