फगुन ३०,ओखलढुंगा— अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले स्थानीय तहमा बढी भ्रष्टाचार भएकैले आयोगमा बढी उजुरी दर्ता भएको बताएका छन् । सोमबार ओखलढुंगा सदरमुकाममा आयोजित ’भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ विषयक अन्तरक्रियामा चन्दले यस्तो बताएका हुन् ।’संख्या पनि स्थानीय तहको बढी भयो । भ्रष्टाचार पनि स्थानीय तहमै बढी भयो, ’ आयुक्त चन्दले भने, ’किनभने योजनाको संख्या पनि टुक्रेटाक्रे गरेर धेरै नै छ । यसमा सुधार आवश्यक छ ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महोत्तरीस्थित बर्दिबासमा दुई आर्थिक वर्षमा दर्ता भएका ९ जिल्लाका उजुरीमध्ये सबैभन्दा बढी १ हजार १ सय ५७ वटा मुद्दा स्थानीय तहको दर्ता भएका छन् । संघअन्तर्गतका योजनाको ५ सय २६ वटा र प्रदेश अन्तर्गतका ८६ वटामात्र उजुरी दर्ता भएको कार्यालये जनाएको छ । चालु आर्थिक वर्षमा अख्तियारमा ओखलढुंगाको स्थानीय तहका १६ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ ।धेरैजसो भ्रष्टाचार सार्वजनिक खरिद र निर्माणमा हुने गरेको आयोगले जनाएको छ । आयोगको बर्दिबास कार्यालयका प्रमुख गोपालकुमार अधिकारीका अनुसार गलत इस्टिमेट तयार पार्ने, बजेट टुक्र्याएर खरिद गर्ने, आवश्यक भन्दा बढी सामग्री खरिद गर्ने जस्ता काम स्थानीय तहमा देखिएका छन् । जिन्सी दाखिला नगर्ने, गलत दाखिला प्रतिवेदन गर्ने र उपभोक्ता समितिसम्बन्धी कार्यविधि पालना नगर्ने प्रवृत्ति बढी देखिएको उनले बताए । कर्मचारी नियुक्तिमा मिलेमतो, नजिकका र आफन्तलाई बिनाप्रतिस्पर्धा नियुक्तिलगायतका उजुरी आयोगमा पर्ने गरेको छ । अन्तरक्रियामा स्थानीय तहका प्रमुखहरुले भने भ्रष्टाचार नभएको झूटा उजुरी मात्र परेको भन्दै आफ्नो बचाउ गरेका थिए ।

अघिल्लो सामग्रीयुक्रेनबाट भागेर १७ लाखभन्दा बढी मानिस पोल्याण्ड पुगे
यसपछिको सामग्रीतोलामा १ हजार ८ सय  रुपैयाँले घट्यो सुन