सिन्धुली – ५ वर्षे कार्यअवधि सकिनै लाग्दासमेत गोलन्जोर गाउँपालिका–१ डुडभन्ज्याङको कार्यालय विद्यालयबाट चलेको छ । कामदा माविको एउटा कोठालाई कार्यालय बनाएर प्रयोग गर्दै आएको वडाध्यक्ष मीनबहादुर सुनुवारले बताए ।‘विद्यालयकै कोठामा कार्यकाल बित्न लाग्यो,’ उनले भने, ‘बैठक बस्नुपर्दा बाहिर चौरमा बस्ने गरेका छौं । भाडा भने तिर्न परेको छैन ।’ गोलन्जोर–७ को कार्यालय पनि स्वास्थ्य चौकी खुर्कोटको भवनबाट चल्दै आएको छ । तीनपाटन गाउँपालिका–८ कार्यालय पनि आयुर्वेद भवनमा छ । वडा–३ र ९ को कार्यालय भने भाडाको घरमा सञ्चालित छन् । तीनपाटनका अध्यक्ष कर्णबहादुर थापामगरले ११ वडामध्ये २ वटामा यसअघि नै भवन रहेको र ६ वटामा नयाँ भवन बनेका बताए । जिल्लामा कुल ७९ वडामध्ये १७ वटाको आफ्नै भवन छैन । ५ वर्षमा कार्यालय निर्माण गर्न नसक्नुले स्थानीय तहको कार्यक्षमतामाथि नै प्रश्न उठेको स्थानीयको भनाइ छ ।
बागमती प्रदेश सिन्धुलीका १७ वडा भवन विहीन