पठनपाठन नुहँदासम्म कुनै पनि मातृभाषा नजोगिने भएको जस्तो देखियो
१० फल्गुन,रौतहट//प्रत्येक वर्ष फेब्रुअरी २१ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवसलाई सन्दर्भ पारेर नेपाल प्रज्ञा प्रतिष्ठान, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगायतले मातृभाषासम्बन्धी विविध कार्यक्रम गर्दै आएका छन् । भाषा आयोग, युनेस्को, बङ्गलादेशको राजदूतावास लगायतले मातृभाषा दिवसमा सहकार्य गर्दै आएका छन् ।नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा (व्याकरण तथा शब्दकोश) विभागका प्रमुख प्राज्ञ योगेन्द्र यादवका अनुसार अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष दुई दिने कार्यक्रम गर्छ ।२० फेब्रुअरीमा भाषासम्बन्धी गोष्ठी तथा २१ फेब्रुअरीमा मातृभाषा कविता महोत्सवको आयोजना हुन्छ । आइतबार मातृभाषासम्बन्धी ४ वटा कार्यपत्र प्रस्तुत गरिए । जसमा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी, डा. बालकृष्ण बल, डा. सोमबहादुर धिमाल, डा. सुलोचना मानन्धरले मातृभाषाको विविध पक्षबारे कार्यपत्र प्रस्तुत गरे । डा अवस्थीको कार्यपत्रमा एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ वटा भाषा रहेको त्यसमध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको उल्लेख छ । सोमबार २१ फेब्रुअरीमा उपराष्ट्रपति नन्दबहादुर पुनको समुपस्थितिमा मातृभाषा कविता महोत्सव हुँदैछ ।
कविता महोत्सवमा ४० भाषाको कविता वाचन गरिँदैछ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पनि प्रत्येक वर्ष मातृभाषा दिवस मातृभाषी कविता वाचनका साथै स्रष्टालाई पुरस्कत गरी मनाउने गरेको छ । यस वर्ष कवि बैरागी काँइलालाई प्रतिष्ठानले पुरस्कृत गरेको छ ।मातृभाषा साहित्य विभागकी प्रमुख प्राज्ञ लक्ष्मी मालीका अनुसार प्रज्ञा प्रतिष्ठानका ११ मध्ये २ वटा मातृभाषासम्बन्धी विभाग छन् । एउटा मातृभाषा व्याकरण तथा शब्दकोश विभाग र अर्को मातृभाषा साहित्य विभाग । मातृभाषा साहित्य विभागबाट विभिन्न मातृभाषाको करिब ११ वटा पुस्तक आफ्नो कार्यकालमा प्रकाशित भएको मालीले जानकारी दिइन् । माली भन्छिन् जो अलि अनुसन्धानमा जागरुक छ, भाषाभाषीहरूका अभियन्ताहरु हुनुहुन्छ, उहाँहरुका अनुसन्धानमूलक साहित्यिक कृति अलि बढी निस्किन्छन् तर कतिपय निष्क्रिय हुनुहुन्छ, उहाँहरुलाई बोलाउँदा पनि आउनु हुन्न, उहाँहरुको भाषाको चाहिँ कमै छ ।लोपोन्मुख भाषाहरुका साहित्यलाई महत्त्व दिएर सकेसम्म खोजी खोजी प्रकाशन गर्ने गरेको र लिखित साहित्य नभेटिए पनि त्यसका वक्ताहरुलाई बोलाएर मौखिक परम्परामा रहेको उखान,रु टुक्का, लोककथा, गीत सङ्कलन गर्न अनुरोध गरी प्रकाशन गर्ने गरेको उनी बताउँछिन् । एकजना मात्र वक्ता बाँकी रहेका लमजुङको एउटा गाउँबाट दुरा जातिको कथाहरु सङ्कलन गरेर दुरा भाषाको लोककथा सङ्ग्रह भर्खरै छापिएको उनले बताइन् ।
कति छ भाषा ?
२०६८ सालको तथ्याङ्कअनुसार नेपालमा १२३ वटा भाषा छन् । ती भाषालाई सुरक्षित, लोपोन्मुख, लोप भएका र मृतप्रायः भाषा भनी वर्गीकरण गरिएको पाइन्छ । भाषाविद् अमृत योञ्जनका अनुसारका अनुसार लोप भाषा २१ वटा छन् । १० लाखभन्दा बढी वक्ता भएका भाषालाई सुरक्षित भाषा (सेफ लेङ्ग्वेज) भनिने र नेपालका पाँचवटा भाषा मात्रै सुरक्षित भाषा भएको उनी बताउँछन् त्यस आधारमा भन्दा नेपाली, मैथिली, भोजपुरी, थारू र तामाङ सुरक्षित भाषा हुन् ।
१० लाखभन्दा कम र एक हजारभन्दा बढी वक्ता भएका भाषा लोपोन्मुख भाषाभित्र पर्छन् । तीमध्ये पनि २४ वटा भाषा नेपाल बाहिरका भाषा छन् । चाइनिज, कोरियन, फ्रन्च, जापानिजलगायतलाई नेपाल बाहिरका भाषा हुन् भनिएको छ ।२०६८ को जनगणनाले १२३ मातृभाषा भनेकोमा भाषा आयोगले थप ८ वटा भाषाको पहिचान भएको बताएको छ । जनगणना अनुसार नेपालका अधिकांश भाषा भारोपेली तथा चिनियाँ–तिब्बतेली भाषा परिवारका छन् । जसमध्ये मातृभाषाका रूपमा नेपाली ४४.६४५, मैथिली ११.६७५, भोजपुरी ५.९८२, थारु ५.७७४, तामाङ ५.१, नेपाल ३.१९५, बज्जिका २.९९४, मगर २.९७६, डोटेली २.९७३, उर्दु २.६१ प्रतिशत छन् । दुरा, कुसुन्डा, काइके, वनकरिया, कागते, बराम, लिखिम, सुरेल कुर्माली, मालपाडे फाङदुवाली लगायत २२ वटा मातृभाषा लोप हुने अवस्थामा छन् । सरकारले एक हजारभन्दा कम मानिसले बोल्ने भाषालाई मृतप्रायः भाषाको सूचीमा राखेको छ ।
भाषा आयोग तत्पर
संविधानले नेपालका भाषाहरुको अध्ययन, अनुसन्धान तथा संरक्षण संवर्द्धन गर्न धारा २८७ मा भाषा आयोग गठनको व्यवस्था गरेको छ । भाषा आयोगले लोप हुन लागेका भाषालाई जोगाउन अहिले ४७ वटा भाषाको वर्ण निर्धारण, शब्द सङ्कलन, शब्दकोश, व्याकरण र इतिहास लेखनको काम गरिरहेको जनाएको छ । लिङ्खिम, बज्जिका, छन्त्याल, सन्थाली, भोट, शेर्पा, थामी, स्युवा, राजवंशी, उराउ, लोहरुङ, सुनुवार, गोपाली, ताजपुरिया, याम्फु, सोनाह, जुम्ली, याक्खा, चाम्लिङ, सम्पाङ, बेलहरे, लाप्चा, आठपुरिया, वाम्बुले आदि भाषाको अभिलेखीकरण भइसकेको छ । नेपालको संविधान २०७२ ले प्रस्तावनामै नेपाल बहुभाषिक मुलुक भएको स्वीकार गरेको छ भने धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भनेको छ ।
यस्तै धारा ७ ले सरकारी कामकाजको भाषा बारे उपधारा २ मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ भनिएको छ । यसैगरी धारा ३२ मा भाषा तथा संस्कृतिको हकअन्तर्गत प्रत्येक व्यक्ति र समुदायदाई आफ्नो भाषा प्रयोग गर्ने हक हुने र नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्द्धन र संरक्षण गर्ने हक हुनेछ भनिएको छ । यसलाई हेर्दा संविधानले मातृभाषाबारे निर्णय गर्ने अधिकार प्रदेशलाई नै जिम्मा दिएको छ । भाषाविद् अमृत योन्जन भन्छन्, ‘विद्यालयमा मातृभाषाको पठनपाठन नहुँदासम्म कुनै पनि मातृभाषा जोगिँदैन ।’
अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिलेबाट ?
बोली फुट्दा, हुर्कंदा बालकले जुन भाषा बोल्छ, त्यो नै उसको मातृभाषा हो । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सुरुवातको सन्दर्भलाई हेर्दा सन् १९५२ मा बङ्गलादेशमा सरकारी कामकाजका लागि मातृभाषा (बङ्गाली भाषा) प्रयोग गर्न पाउनुपर्छ भनेर आन्दोलन भएको थियो ।त्यो आन्दोलनका क्रममा चार विद्यार्थीको हत्या भएको र भाषाकै कारण पाकिस्तानबाट बङ्गलादेश छुट्टिएको थियो । त्यो दिनलाई युनेस्कोले सन् १९९९ नोभेम्बर १७ मा विशेष दिनका रूपमा घोषणा गर्यो भने संयुक्त राष्ट्र सङ्घले २००० मा सोही दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गर्यो । यसपछि २१ फेब्रुअरीलाई विश्व मातृभाषा दिवस भनेर मनाउन थालिएको हो ।