किर्ते कागज गरेको गौर नगरपालिकाको दावी
गौर,१० फाल्गुन// गौर राइस मिलको जग्गा बिक्री गर्न केही राजनीतिक दलका नेता कार्यकर्ता मात्रै होइन अहिलेसम्म संरक्षण गरेर बसेको रौतहट जिल्ला क्रिकेट संघ नै सक्रिय बनेको छ । गौरमै चार बिघा जग्गा र ६० लाख रकम क्रिकेट सङ्घले पाउने शर्तमा राइस मिलको जग्गा बिक्री गराउन सङ्घका पदाधिकारीहरू लागेका छन् ।राइस मिल बिक्री गराइदिने जिम्मा लिएका क्रिकेट सङ्घका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षको सक्रियतामा भूमाफियाहरुले मोटो रकम खर्च गरेका छन् । क्रिकेट सङ्घका चार पदाधिकारीहरूलाई लाखौँ रुपैयाँ दिएर बिक्री प्रक्रियालाई तीव्र बनाउन भूमाफियाहरुले दबाब दिएका छन् । चार दशक भन्दा लामो समय देखी सार्वजनिक स्थलका रूपमा रौतहटका स्थानीहरूले प्रयोग गरि रहेको जग्गामा बिक्री गर्नका लागी संघले सहकार्य गरिरहेको छ । भूमाफियाहरुले सङ्घका अध्यक्ष समेत रहेका पवन गुप्तालाई अन्यत्र जग्गाको बैना गर्न १७ लाख रुपैयाँ समेत दिएको श्रोत को दावी छ ।पिकनिक र भोजभतेरमा सङ्घले रकम खर्च गर्न शुरु गरेको गरेको श्रोतको दाबी छ । संघका उपाध्यक्ष मनोज शर्माले आफू निकटका केही सञ्चारकर्मीहरूलाई विभिन्न प्रलोभनमा पार्ने प्रयास गरेको देखिएको छ ।
२००३ सालमा स्थापना भएको गौर राइस मिल २०२६ सालमा आएर बन्द भएपछि सार्वजनिक रूपमै रौतहटवासीले प्रयोग गरि रहेका छन् । झण्डै चार दशक सम्म स्थानीयले सार्वजनिक काममा प्रयोग गरेको राइस मिलको नाममा रहेको ५ बिघा १९ कट्ठा १५ धुर जग्गामा लामो समय देखी केही भूमाफियाहरुले आँखा गाडेका छन् । क्रिकेट सङ्घको रकमी चलखेल बारे खुलासा भए पछि स्थानीयहरूको आक्रोश बढेको छ ।
एका तिर संरक्षण गरेजस्तो गर्ने र अर्को तिर खेलमैदान बेच्न खोज्ने दोहरो चरित्र देखाउने क्रिकेट सङ्घ विरुद्ध स्थानवासी एकजुट भएर प्रतिकार गर्नु पर्ने स्थानीयले बताए । गौर नगरपालिकाका जनप्रतिनिधिहरूको साझा एजेण्डा बन्ने गरेको गौर राइस मिलको जग्गा सार्वजनिकिकरणमा भने स्थानीय, प्रदेश र केन्द्र सरकारले समेत ठोस पहल गर्न सकेको छैन ।
गौर नगरपालिकाको ध्यानाकर्षणगौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताले नक्कली कागजातहरु तयार पारेर भूमाफियाहरु केही फटाहा व्यक्तिहरु संग मिलेर जग्गा विक्री गर्ने चलखेल भईरहेको रहस्य सार्वजनिक भएपछि गौर नपा वडा नम्वर ३ का वडाध्यक्ष श्यामसुन्दर पटेलद्धारा जिल्ला प्रहरी कार्यालय गौरमा किर्ते तथा जालसाजी सम्बन्धी किटानी जाहेरी दर्ता गराएको बताए ।
रौतहटबासीको बहुमूल्य धरोहरलाई गुम्न नदिने प्रतिबद्धता जनाउदै मेयर गुप्ताले राइस मिल्सको जग्गा अधिग्रहण प्रक्रियाको साथै संरक्षण गर्नमा आफूहरु हरदम सक्रिय रहेको हुँदा स्थानीय बासिन्दाहरु पनि समय समयमा समाजको कुतत्वहरुलाई पहिचान गरेर तह लगाउनुपर्नेमा जोड दिए । नक्कली कागजातका आधारमा भूमाफियाहरुले पटक पटक राइस मिल बेच्ने प्रयास गर्ने गरेका छन् । प्रदेश सरकारले १५ करोड रुपैयाँ छुट्टाएर रेडबुकमा सार्वजनिककरणको योजना राखे पनि अहिले सम्म सो काम हुन सकेको छैन ।