माघ २५, रौतहट // राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिंदेनसँग पराजित भएका थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए । थापा भने स्थानीय तहको निर्वाचन घोषणा अघि नै आफ्नो माग सम्बोधन हुनुपर्ने अडानमा थिए । सोमबार मात्र आफ्नो पक्षका नेताहरुको भेला गरेर गृहनगर हेटौंडा पुगेका पूर्वअध्यक्ष थापाले मंगलबार पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
पत्रकारहरुसँग कुरा गर्दै थापाले भनेका छन्, ‘पार्टीसँग ३१ वर्ष लामो सम्बन्ध आजबाट टुट्न गएको छ, म राप्रपाबाट अलग भएको छु ।’ पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताएका छन् ।