भाद्र,१३
काठमाडौं/तालिवानका प्रवक्ताले ११ सेप्टेम्बर, २००१ को आक्रमणमा बिन लादेनको संलग्नता पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको दाबी गरेका छन् । बिन लादेनलाई अमेरिकामा भएको उक्त हमलाको मुख्य योजनाकार मानिएको छ । र, अमेरिकी सैनिकले २०११ मा उनलाई पाकिस्तानमा मारेका थिए ।
यद्यपी, तालिबानका प्रवक्ता जाबीहुल्लाह मुजाहिदले लादेनको बचाऊ गरेका छन् । जब ओशामा बिन लादेन अमेरिकीहरुका लागि दोषी बनेका थिए, त्यतिबेला उनी अफगानिस्तानमा थिए । र, उनी ११ सेप्टेम्बरको हमलामा संलग्न भएको कुनै प्रमाण थिएन, मुजाहिदले एनबीसी न्युजसँगको कुराकानीमा भने, र अहिले हामीले अफगानी भूमी कसैविरुद्ध पनि प्रयोग हुनेछैन भनेर वचन दिएका छौं ।
२० वर्षअघि सत्तामा छँदा तालिवानले अफगानिस्तानमा अल कायदा नेटवर्कका नेता बिन लादेनलाई सुरक्षा दिइरहेको थियो । २००१ मा वर्ल्ड ट्रेड सेन्ट र पेन्टागनमा आक्रमण भएपछि अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले तत्कालै लादेनलाई समातेर हस्तान्तरण गर्न तालिबानसमक्ष माग गरेका थिए । उनले अफगानिस्तानमा रहेका आतंकवादी क्याम्पहरू पनि तत्कालै हटाउन माग गरेका थिए । तालिबानले यो प्रस्ताव अस्विकार गरेपछि बुसले अमेरिकी र नेटो सैनिकको नेतृत्वमा हवाई हमला सुरु गरेका थिए र जमिनमा अफगान नर्थन एलाइन्सले तालिबानसँग भिडन्त गरेको थियो । यस हमलाको दुई महिनाभित्रै तालिबानी सत्ता ढलेको थियो । तर, २० वर्षपछि फेरि तालिबानले अफगानिस्तानमा कब्जा जमाएको छ । र, अब अलकायदाले पनि तालिबानमा आफ्नो सञ्जाल बिस्तार गर्नसक्ने चेतावनी सैन्य अधिकारीहरुले दिइरहेका छन् ।
गत जुनमा संयुक्त राष्ट्रसंघले अफगानिस्तानका ३४ प्रान्तमध्ये १५ वटा प्रान्तमा अलकायदाको उपस्थिती रहेको भन्दै सतर्क रहन चेतावनी दिएको थियो तालिबान र अलकायदा नजिकबाट जोडिएको र उनीहरुबीचको सम्बन्ध विच्छेद हुने कुनै संकेत नदेखिएको राष्ट्रसंघको रिपोर्टमा उल्लेख थियो । अफगानिस्तानका विश्लेषक अब्दुल सयदका अनुसार यी दुई संगठन बीचको सम्बन्ध ११ सेप्टेम्बरको दाँजोमा अझै मजबुत भइसकेको छ ।
अन्तराष्ट्रिय तालिवानले भन्यो : बिन लादेनलाई दोषी ठहर गर्ने प्रमाण थिएन