सांकेतिक तस्बिर


बैशाख,२३ रौतहट

रौतहटमा कोरोना भाइरस (कोविड १९) को दोश्रो लहरबाट संक्रमित भई ६ जनाले ज्यान गुमाएका छन् । उपचारको क्रममा रहेका २ जनाको गएराति मृत्यु भएपछि मृतकको कुल सँख्या ६ पुगेको हो ।गएराति उपचारको क्रममा नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा फतुवा विजयपुर नगरपालिका ८ विजयपुरका ७० वर्षिय पुरुष र गौर नगरपालिका १ का ५४ वर्षिय एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । २२ गते पनि रौतहटका २ जनाको उपचारको क्रममा मृत्यु भएको थियो । यसअघि संक्रमणका कारण २ महिला र २ पुरुषको मृत्यु भएको थियो ।रौतहटमा हाल १९५ जना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । बुधवार मात्रै रौतहटमा ३० जना संक्रमित थपिएका थिए । रौतहटमा सबैभन्दा बढी गौर नगरपालिकामा ४९ जना संक्रमित रहेका छन ।
चन्द्रपुरमा ४६, गरुडामा २०, राजदेवी नगरपालिकामा ११, फतुवा विजयपुरमा १०, दुर्गाभगवतिमा ९, कटहरीयामा ८, माधवनारायणमा ७, यमुनामाईमा ४, ईशनाथमा २, गुजरा, मढीमाई र मौलापुरमा १–१ जना संक्रमित रहेको गौर अस्पतालले जनाएको छ । गौर अस्पतालमा भएको परिक्षणमा ११ जना जिल्ला बाहिरका र १ जना अन्य देशको रहेका छन ।
संक्रमण फैलिएसँगै रौतहटमा शनिवारबाट होटेल र सवारी साधन संचालनमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।सरकारले संक्रमणका अवस्था हेरी निषेधाज्ञासहित बन्द गर्ने सम्पूर्ण अधिकार प्रशासन र स्थानीय तहलाई दिइएको छ । तर चन्द्रपुरले हाटबजार मात्र बन्द गर्न आग्रह गरेको छ । बजार चोकका पसलमा दिनहुँ भीडभाड हुने गरेको छ । यस तर्फ नगरपालिकाले चासो नदेखाएको व्यवसायीहरूको भनाइ छ ।यस्तै, जिल्लास्थित सरकारी कार्यालयहरू पनि धमाधम बन्द गर्न थालिएको छ । संक्रमण बढ्न थालेपछि भीडभाड हुने मालपोत कार्यालय गौर र गरुडा बन्द भएका हुन् । यी दुवै कार्यालयमा सेवाग्राहीको भीड लाग्थ्यो । चन्द्रपुरले नगरपालिका र सबै वडाहरू बन्द गरेको छ ।संक्रमण बढ्न नदिन कार्यालय बन्द गर्नुपरेको मेयर रामचन्द्र चौधरीले सुनाए । मौलापुर, चन्द्रनिगाहपुरमा रहेको मालपोत कार्यालय भने सुचारु छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अवस्था हेरेर कार्यालयहरू बन्द गर्ने जनाएका छन् ।
‘पहिलो चरणमा जिल्लाभरिका सबै हाटबजारहरू बन्द गराएका छौं,’ उनले भने, ‘संक्रमणको अवस्था हेरेर विस्तारै सबै कार्यालय बन्द गराउँछौं ।  । जिल्लामा बन्द भएका आइसोलेसन धमाधम सञ्चालन गर्न थालिएको छ  । अहिले अधिकांश संक्रमितहरू घरमै बसेका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

अघिल्लो सामग्रीसरकारको आग्रह अक्सिजन सिलिन्डर अस्पतालमा फिर्ता गर्न
यसपछिको सामग्रीरौतहटमा २४ गते राति १२ बजे बाट निषेधाज्ञा