पहिलो दिन कार्यान्वयनमा केही फितलो
वैशाख ४ काठमाडौँ — नेपाल आयल निगमले ट्यांकरबाट हुने इन्धन खरिदबिक्री, परिमाण, मौज्दात, लेखा, प्रशासनलगायतको काम सफ्टवेयरबाट मात्रै हुने गरी काम सुरु गरेको छ । इन्धन कारोबारमा पारदर्शी विवरण राख्ने भनिएको इन्टरप्राइजेज रिसोर्स प्लानिङ ईआरपी सफ्टवेयर शुक्रबारबाट सुरु गरे पनि पहिलो दिनमा केही कमजोरी भने देखिएका छन् ।
निगमले शुक्रबार देशभरका कार्यालयबाट एकसाथै लागू गर्ने बताए पनि केही डिपोमा प्राविधिक समस्या देखिएको हो । केही डिपोमा तथ्यांक इम्पोर्ट गर्नुपर्नेलगायत सुधार आवश्यक देखिएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।थानकोट, विराटनगर, अमलेखगन्ज र नेपालगन्जबाट केही बिलिङ भयो । तर साना डिपोबाट हुन सकेन । यो सुरुवात हो,’ उपाध्यायले भने, ‘परीक्षणका क्रममा केही समस्या आए, तिनलाई सुधार गर्दै लैजान्छौं ।’ तथ्यांक इन्ट्रीका क्रममा केही ठाउँमा तथ्यांक अपडेट हुन सकेन । यद्यपि यी समस्या सामान्य भएको उनको दाबी छ ।
यस प्रणालीले आपूर्तिसँगै फाइनान्स र गुणस्तरमा पनि नियन्त्रण हुने निगमको भनाइ छ । दैनिक रूपमा ट्यांकरबाट आयात गर्ने इन्धन, बिक्री परिमाण, मौज्दात इन्धन, लेखा, प्रशासनलगायत सबै काम सफ्टवेयरमार्फत हुन्छ, जसले गर्दा पारदर्शिता हुने निगमको दाबी छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पनि ईआरपी कार्यान्वयनका क्रममा देखिएका समस्या सुधार गर्दै लैजाने बताए ।पेट्रोलियम व्यवसायीले भने निगमले हतारमा ईआरपी सुरु गर्दा व्यवसायीलाई कठिनाइ मात्र भएको गुनासो गरे । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पनि सरकारले ईआरपी उद्घाटनमा हतारो गरेको दाबी गरे । ‘ईआरपी बिलकुल नयाँ प्रविधि हो । कार्यान्वयनमा जानुअघि प्रयोगकर्ता व्यवसायीलाई पूर्ण रूपमा तालिम दिनुपर्थ्यो । सफ्टवेयरबारे बुझाउनुपर्थ्यो,’ उनले भने ।निगमका अनुसार अहिले दैनिक ७ हजार किलोलिटर डिजेल र २५ सय किलोलिटर पेट्रोल बिलिङ हुन्छ । तर शुक्रबार न्यून परिमाणमा बिलिङ भएको छ । ‘निगमले नयाँ बैंक खाता दिएको छ । रकम बैंकमा जम्मा गरेका छौं । तर अनलाइन भएको छैन । भौचर नै लिएर गएका छौं,’ प्रधानले भने ।निगमले ईआरपी प्रणाली लागू गर्दा व्यवसायीलाई कुनै आपत्ति नभए पनि व्यवसायीसँग व्यापक छलफल हुनुपर्ने उनले बताए । ‘सुधारका लागि सफ्टवेयर आवश्यक छ । तर पूर्ण भइसकेको छैन । एप्स बन्नुपर्थ्यो, त्यो पनि बनेको छैन । कसैलाई राम्रो ज्ञान पनि छैन । ईआरपी प्रणाली चलाउन सक्ने अवस्थामा हामी छौं कि छैनौं  सबैतिरका व्यवसायीलाई तालिम दिऊँ,’ प्रधानले भने, ‘ईआरपीमार्फत व्यवसायीलाई कसरी नियमन गर्ने भन्ने कुरामा मात्रै ध्यान दिइएको छ । डिपोमा तेल प्राप्त गर्दाको अवस्था, गुणस्तर, परिमाणको पनि सुनिश्चितता गर्नुपर्‍यो ।’पुरानो सफ्टवेयरअनुसार व्यवसायीले बिहान इन्धनको माग टिपाउँछन् । त्यसबापतको रकम बैंकमा जम्मा गर्छन् । बैंक भौचर निगममा बुझाएपछि मात्रै इन्धन लोड गर्न पाउँछन् । नयाँ प्रणाली अपनाउँदा आर्थिक कारोबार मोबाइलबाट अनलाइनमार्फत गर्न सकिन्छ । यो प्रणाली कार्यान्वयनमा आए आर्थिक कारोबारमा मिलान गर्ने ठाउँ रहन्न ।दोस्रो चरणअन्तर्गत डिजिटल लकिङमार्फत निगमले सिधै मनिटरिङ, भेहिकल ट्र्याकिङ, पाइपलाइनको आपूर्ति नियमनसमेत गर्न सक्नेछ ।

अघिल्लो सामग्रीभौतिकले माग्यो डेढ खर्बको बजेट
यसपछिको सामग्रीअहिलेलाई जति मत आवश्यक थियो, त्यतिले मात्रै फ्लोर क्रसु गरेका हौ प्रकाश ज्वाला